काठमाडौं । अमेरिका र इरानबीच जारी वार्ता हर्मुज जलमार्गको व्यवस्थापन र सञ्चालनसम्बन्धी विवादका कारण निष्कर्षमा पुग्न सकेको छैन। दुवै देशबीच इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, इरानी सम्पत्तिको पहुँच तथा ३०० अर्ब अमेरिकी डलरभन्दा बढीको सम्भावित लगानीलगायत विषयमा छलफल भए पनि हर्मुज जलमार्ग मुख्य अवरोध बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कतारको राजधानी दोहामा बुधबार दुवै देशबीच अप्रत्यक्ष वार्ता भएको थियो। अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार वार्तामा कतार र पाकिस्तानका अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए।
वार्तामा इरानले ओमानसँगको सहकार्यमा हर्मुज जलमार्गको सञ्चालन व्यवस्थापन गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्ताव अघि सारेको छ। तर अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्ग भएकाले हर्मुजमा कुनै अवरोधबिना जहाजको आवतजावत सुनिश्चित हुनुपर्ने अडान दोहोर्याएको छ।
अमेरिकाले प्रतिबन्ध हटेपछि इरानले विदेशी लगानी, तेल निर्यात र अन्य आर्थिक गतिविधिबाट प्राप्त गर्ने आम्दानी हर्मुजबाट उठाइने शुल्कभन्दा धेरै गुणा बढी हुने तर्क गर्दै इरानलाई दीर्घकालीन आर्थिक लाभतर्फ ध्यान दिन आग्रह गरेको जनाएको छ।
‘हामीले इरानलाई ठूलो सोच्न आग्रह गरेका छौं। प्रतिबन्ध हटेपछि उसले प्राप्त गर्ने आर्थिक अवसर जहाजबाट शुल्क उठाउने रणनीतिभन्दा धेरै लाभदायक हुनेछ,’ एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियसले उल्लेख गरेको छ।
यद्यपि, वार्तामा सहभागी स्रोतहरूका अनुसार दुई साताअघि तयार गरिएको प्रारम्भिक समझदारीपत्र (एमओयू) कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच अझै महत्वपूर्ण मतभेद कायम रहेकाले वार्ता निष्कर्षमा पुग्न सकेको छैन।


