Wednesday, September 2, 2026
Homeअन्तराष्ट्रियभेनेजुएला भूकम्पको पीडा: अर्जेन्टिनी फुटबलरले गुमाए श्रीमती र दुई सन्तान

भेनेजुएला भूकम्पको पीडा: अर्जेन्टिनी फुटबलरले गुमाए श्रीमती र दुई सन्तान

काठमाडौं। भेनेजुएलामा गएको शक्तिशाली जुम्ल्याहा भूकम्पमा अर्जेन्टिनी फुटबलर लुकास ट्रेहोले आफ्नी श्रीमती र दुई साना सन्तान गुमाएका छन्। भेनेजुएलाको दोस्रो डिभिजन क्लब क्लब स्पोर्ट मारिटिमो डे ला गुएरा बाट खेल्ने ३८ वर्षीय डिफेन्डर ट्रेहोका लागि यो प्राकृतिक विपत्तिले जीवनकै सबैभन्दा ठूलो पीडा बनाएको छ।

भूकम्प गएको बेला ट्रेहो आफ्नो टोलीसँग कोपा भेनेजुएला प्रतियोगिताको तयारीका लागि राजधानी काराकासमा थिए। त्यसै समयमा ला गुएरा प्रान्तस्थित उनको आवासीय भवन पूर्ण रूपमा भत्किएको खबर पाएपछि उनी तत्काल घटनास्थल पुगेका थिए। तर त्यहाँ पुग्दा उनको घर भग्नावशेषमा परिणत भइसकेको थियो।

ट्रेहोले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमती र छोराछोरीको सकुशल उद्धारका लागि प्रार्थना गर्न सबैसँग आग्रह गरेका थिए। उनले अग्निनियन्त्रक, उद्धारकर्मी र स्वयंसेवकसँगै लगातार तीन दिनसम्म आफ्नै हातले भग्नावशेष हटाउँदै परिवारको खोजी गरेका थिए।

तर आइतबार उद्धार टोलीले भग्नावशेषबाट उनकी श्रीमती यानिना मारेनेला, छोरा आरोन र छोरी आइनहोआको शव निकालेपछि उनीहरू जीवित भेटिने आशा समाप्त भएको हो।

ट्रेहोका आफन्तका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकै रहेको बहुमञ्जिला भवन पूर्ण रूपमा ध्वस्त भएकाले उद्धार कार्य निकै कठिन बनेको थियो।

यस घटनाप्रति मारिटिमो क्लबसहित भेनेजुएलाका अन्य फुटबल क्लबहरूले गहिरो दुःख व्यक्त गरेका छन्। क्लबहरूले संयुक्त वक्तव्य जारी गर्दै ट्रेहोप्रति समवेदना प्रकट गरेका छन्।

यसै भूकम्पमा स्थानीय फुटबल खेलाडी हेक्टर बेलोकी श्रीमती एन्ड्रियाले आफ्नी एक वर्षीया छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन् भने काराकास फुटबल क्लब र सेन्ट अगस्टिन एकेडेमीसँग आबद्ध केही युवा खेलाडीहरूको पनि मृत्यु भएको पुष्टि भएको छ।

संयुक्त राष्ट्रसंघ र स्थानीय विपद् व्यवस्थापन निकायका अनुसार गत जुन २४ मा आएको ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पमा हालसम्म १,७१९ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सञ्चार र यातायात सेवा अवरुद्ध रहेकाले अझै करिब ५१ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका