काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूचीबाट आफ्नो नाम हटाइएपछि नेता सोम शर्मा निर्वाचन आयोग पुगेका छन्।
गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नामावलीबाट आफूलाई हटाइएको निर्णयविरुद्ध शर्माले मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। उनले आफ्नो नाम हटाइनुको स्पष्ट कारण सार्वजनिक गर्न तथा निर्णय सच्याएर आफूलाई निर्वाचित केन्द्रीय सदस्यकै रूपमा कायम गर्न माग गरेका छन्।
उजुरीमा शर्माले पार्टीको निर्णय रास्वपाको विधानको दफा २२ (४) तथा निर्वाचनका आधारभूत सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। ‘चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौँ स्थानभन्दा माथिको मत परिणामलाई नै उल्ट्याउने निर्णय वैधानिक र न्यायसंगत छैन,’ उनले उजुरीमा उल्लेख गरेका छन्।
उनले उक्त निर्णयले आफूलाई मात्र नभई आफूलाई मत दिएका ९९३ जना प्रतिनिधिको जनादेशको समेत अवमूल्यन गरेको जिकिर गरेका छन्।
यसअघि महाधिवेशनपछि निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रममा ‘क्लस्टर’ मिलाउने प्रक्रियामा त्रुटि भएको भन्दै रास्वपाको आन्तरिक निर्वाचन आयोगले केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको थियो। संशोधित सूचीमा कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाएर ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको थियो।
रास्वपाको आन्तरिक निर्वाचन आयोगले भने प्राप्त कागजात तथा प्रमाणको पुनः अध्ययन गर्दा जनजाति क्लस्टरतर्फ ध्रुवकुमार थापामगर नै निर्वाचित हुनुपर्ने निष्कर्ष आएपछि सूची संशोधन गरिएको स्पष्ट पारेको छ।
अब निर्वाचन आयोगले शर्माको उजुरीमाथि के निर्णय गर्छ र रास्वपाले यस विषयमा थप के धारणा सार्वजनिक गर्छ भन्ने चासो बढेको छ।


