काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियान मंगलबार पाकिस्तानको औपचारिक भ्रमणमा पुगेका छन्। भ्रमणका क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग भएको भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी कुनै छलफल नभएको स्पष्ट पारे। उनले उक्त विषय द्विपक्षीय वार्ताको एजेन्डामा नरहेको उल्लेख गर्दै यसबारे कुनै भ्रम नराख्न आग्रह गरे।
शरीफले भने, “ब्यालिस्टिक क्षेप्यास्त्रका विषयमा कुनै छलफल भएको छैन। समझदारीपत्र (एमओयू) मा पनि यसको कुनै उल्लेख छैन। म यो कुरा स्पष्ट रूपमा भन्न चाहन्छु।”
उनले थपे, “अन्तर्राष्ट्रिय सम्बन्धमा दोहोरो मापदण्ड हुनुहुँदैन। अरू देशसँग क्षेप्यास्त्र हुनु स्वीकार्य हुने तर इरानसँग नहुने भन्ने अवस्था उचित हुन सक्दैन।”
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियान ले आफ्नो देशको रक्षा क्षमता राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँदै त्यसमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
उनले भने, “इरानले कुनै पनि परिस्थितिमा आफ्नो रक्षा क्षमताको विषयमा कसैसँग सम्झौता गर्ने छैन।”
दुवै नेताले क्षेत्रीय शान्ति, सुरक्षा तथा द्विपक्षीय सहकार्यका विषयमा समेत छलफल गरेको जनाइएको छ।


