Sunday, May 24, 2026
Homeअन्तराष्ट्रियइरान–अमेरिका युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

इरान–अमेरिका युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं । डोनाल्ड ट्रम्प ले इरान सँग युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

ट्रम्पका अनुसार अमेरिका, इरान र मध्यस्थकर्ताको भूमिकामा रहेका विभिन्न राष्ट्रबीच अधिकांश विषयमा सहमति भइसकेको छ भने अब अन्तिम रूप दिन मात्र बाँकी रहेको छ।

इरान–अमेरिका तनाव गम्भीर मोडमा पुगेका बेला असिम मुनिर तेहरान पुगेर राजनीतिक तथा सैन्य नेतृत्वसँग छलफल गरेका थिए। त्यसपछि ट्रम्पले आइतबार सम्झौताका अधिकांश सर्तमा सहमति भएको घोषणा गरेका हुन्।

प्रस्तावित प्रारम्भिक ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको वार्ता अवधि रहनेछ। आवश्यक परे उक्त अवधि थप एक महिनासम्म लम्ब्याउन सकिने व्यवस्था पनि रहने बताइएको छ।

द वाल स्ट्रिट जर्नल का अनुसार सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्नु, अस्थायी कूटनीतिक ढाँचा तयार गर्नु तथा विश्व तेल आपूर्तिको महत्वपूर्ण मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउनु हो।

ट्रम्पले भनेका छन्, “अमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ।”

सम्झौताअन्तर्गत इरानले हर्मुज जलमार्ग अस्थायी रूपमा खुला राख्ने र युद्धविरामको वातावरण बनाउने चर्चा छ। त्यसको बदलामा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने तथा वार्ता जारी रहँदा समुद्री मार्गमा अवरोध नहुने सुनिश्चितता दिने तयारी गरेको बताइएको छ।

यद्यपि, यो अझै प्रारम्भिक ढाँचा मात्र भएकाले दुवै पक्षबीच विस्तृत वार्ता जारी रहने जनाइएको छ।

द न्यूयोर्क टाइम्स का अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्न प्रारम्भिक सहमति जनाएको छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको अनुमान गरिएको छ। उक्त युरेनियम भण्डारको व्यवस्थापन कसरी गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।

अमेरिकी अधिकारीहरूले यसलाई सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक विषयका रूपमा लिएका छन्।

यसबीच इसराइल मा भने प्रस्तावित सम्झौताप्रति चासो र असन्तुष्टि दुवै देखिएको छ। वार्ताको प्रत्यक्ष पक्ष नभएकाले अन्तिम चरणमा मात्र जानकारी पाएको भन्दै इसराइल असन्तुष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका