एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स पुगेका छन्। युएईको हवाई क्षेत्रमा प्रवेश गरेपछि त्यहाँका एफ–१६ युद्धविमानहरूले मोदी सवार विमानलाई विशेष सुरक्षा घेरामा एस्कर्ट गरेका थिए।
अबुधाबीमा अवतरणपछि मोदीलाई औपचारिक सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको थियो। भ्रमणका क्रममा उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दुवै नेताबीच ऊर्जा, व्यापार, प्रविधि, नवप्रवर्तन तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने बताइएको छ।
मोदी मे १५ देखि २० सम्मको पाँच राष्ट्र भ्रमणअन्तर्गत युएई पुगेका हुन्। भ्रमणको मुख्य उद्देश्य भारतको खाडी क्षेत्र र युरोपसँगको रणनीतिक सम्बन्धलाई थप बलियो बनाउनु रहेको जनाइएको छ।
भ्रमणका क्रममा रक्षा, ऊर्जा, पूर्वाधार र बैंकिङ क्षेत्रमा विभिन्न महत्वपूर्ण सम्झौता भएका छन्। भारत र युएईबीच रणनीतिक रक्षा साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ।
त्यस्तै, रणनीतिक पेट्रोलियम भण्डारण र तरल पेट्रोलियम ग्यास आपूर्तिसम्बन्धी सहमतिसमेत भएको छ। समुद्री क्षेत्रमा वाडीनारमा जहाज मर्मत केन्द्र स्थापना गर्ने विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ।
युएई भ्रमणपछि मोदी पश्चिम एसियाका अन्य देश हुँदै युरोप जाने कार्यक्रम रहेको छ। नर्वेमा उनले मे १९ मा आयोजना हुने तेस्रो भारत–नोर्डिक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्।
सम्मेलनका क्रममा नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग द्विपक्षीय वार्ता हुने तय भएको छ। कार्यक्रममा डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड र स्वीडेनका नेताहरूको पनि सहभागिता रहनेछ।


