काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट आन्दोलनको मौका छोपेर फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले काभ्रेको पाँचखलबाट पुनः पक्राउ गरेको छ।
खोटाङको दिप्सुङ गाउँपालिका–४ स्थायी घर भई हाल काभ्रेको पाँचखल नगरपालिका–७ शिखरपुर बस्दै आएका ४३ वर्षीय धिरज भनिने मोतिधन राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार राईलाई पाँचखल नगरपालिका–७ शिखरपुरबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको जनाइएको छ।
प्रहरी विवरणअनुसार वि.सं. २०७५ भदौ ३ गते बिहान काठमाडौँको टोखा नगरपालिका–४ विष्णुमती पुलस्थित एक बंगुर फार्मभित्र छत्तर सिंह राई भनिने छत्र सिंह राईको बाँसको लाठी प्रहार गरी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको ठहर गर्दै काठमाडौँ जिल्ला अदालत ले वि.सं. २०७६ असोज १ गते मोतिधन राईलाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको थियो।
अदालतको फैसलापछि कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राई गत वर्ष २०८२ भदौ २४ गते कारागारभित्र भएको आन्दोलन र झडपको मौका छोपेर फरार भएका थिए। त्यसयता प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार विशेष सुराकीका आधारमा खटिएको टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।


