Thursday, June 11, 2026
Homeशिक्षाबाजुरामा शिक्षा सुधारका लागि संवाद, १० वर्षे योजना र प्रविधिमैत्री शिक्षामा जोड

बाजुरामा शिक्षा सुधारका लागि संवाद, १० वर्षे योजना र प्रविधिमैत्री शिक्षामा जोड

बाजुरा । शिक्षा क्षेत्रमा लगानी बढाउने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले बाजुराको बडीमालिका नगरपालिकामा स्थानीय सरकार र सरोकारवाला निकायबीच संवाद कार्यक्रम सम्पन्न भएको छ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल) को आयोजनामा ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६’ लक्षित गर्दै शनिबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो। एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीका अनुसार कार्यक्रमले शिक्षा क्षेत्रमा लगानी अभिवृद्धि र गुणस्तरीय शिक्षामा जोड दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा दिगो विकास लक्ष्यअनुसार सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो। बडीमालिका नगरपालिकाको समग्र शैक्षिक अवस्था, सुधारका लागि गरिएका प्रयास, उपलब्धि र चुनौतीबारे प्रस्तुतीकरणसमेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अमरबहादुर खड्काले नगरपालिकाले शिक्षा सुधारका लागि १० वर्षे शिक्षा योजना निर्माण प्रक्रिया अघि बढाएको जानकारी दिए। उनले विद्यालयबाहिर रहेका विद्यार्थीको तथ्याङ्क सङ्कलन, दरबन्दीअनुसार शिक्षक व्यवस्थापन, विद्यालय समायोजन, सिकाइ उपलब्धि वृद्धि तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिइने बताए।

साथै आगामी वर्षदेखि विद्यालय सुधार योजना, प्रविधिमा आधारित अध्यापन, ई–हाजिरी प्रणाली लागू गर्ने तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सबै विद्यालयमा विस्तार गर्ने योजना रहेको उनले उल्लेख गरे।

कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रमा अझै पनि पूर्वाधार अभाव, शिक्षक तालिमको कमी, प्रविधिमा सीमित पहुँच, सिर्जनशीलताको कमी र शिक्षक अभावजस्ता चुनौतीहरू रहेको औँल्याउँदै समाधानका लागि ठोस पहल आवश्यक रहेको बताएका थिए।

सहभागीहरूले शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारमुखी बनाउन प्रत्येक पालिकाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख नन्दा थापा, विभिन्न शाखाका कर्मचारी, वडाअध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदमबहादुर सिंह तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका