काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित हात पारेको छ। शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले हराउँदै राजस्थानले अंक तालिकामा आफ्नो पकड अझ मजबुत बनाएको हो।
२ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले मात्र १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रभावशाली जित निकाल्यो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ रनको शानदार पारी खेले भने वैभव सूर्यवंशीले ७८ रनको योगदान दिए। साथै, रविन्द्र जडेजाले २४ रन थपे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो। आरसीबीका लागि रजत पाटिदारले ६३ रन बनाए। विराट कोहलीले ३२ रन जोड्दा वेंकटेश अय्यरले २९ रनको योगदान दिए।
यस जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्जर्स बेंगलुरु ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा सीमित बनेको छ।


