मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १४ गतेबाट आफ्नो शैक्षिक कार्यक्रमको सुरुवात गर्ने भएको छ । स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर असार १४ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरेको हो ।
हेटौंडाको मोटल एभोकार्डोमा भोली करिव २ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विषेश समारोहका बीच आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।
उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तय भएको उनले बताए । ‘यो हाम्रो लागि राम्रो अवसर हो, स्व. नेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर हामी भोलिबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दैछौं । उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको कन्ट्रोल रुमबाट भर्चुअल सम्बोधन गर्ने कार्यक्रम रहेको छ, यो हाम्रो लागि विषेश अवसर हो,’ उनले भने ।
कार्यक्रम बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा हुने प्रसाईले जानकारी दिए । बागमती प्रदेश सरकार मातहतको उक्त प्रतिष्ठानले नेपाल सरकारबाट यसै शैक्षिक सत्रबाट चिकित्सा शास्त्र तर्फको स्नातक तहको ३ वटा संकाय अध्यापनको अनुमती पाएको छ ।
प्रतिष्ठानले यस वर्ष चिकित्सा शास्त्रका स्नातक पब्लिक हेल्थ, स्नातक फार्मेसी, ल्याब टेक्नोलोजी बिषय अध्यापनको अनुमति पाएको हो ।
चिकित्सा शिक्षा आयोगबाट प्रतिष्ठानलाई स्नातक तहको पब्लिक हेल्थ (बीपीएच) को २० सिट, स्नातक फार्मेसी (बीफर्मा) र ल्याव टेक्नोलोजिष्ट (बीएस्सी एमएलटी)को ३०÷३० सिटको अध्ययन अनुमति पाएको हो ।रातोपाटीबाट


