काठमाडौं — आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत बिहीबार समूह ‘सी’ को खेलमा नेपाल र इटाली आमनेसामने हुँदैछन्। खेल मुम्बईस्थित वानखेडे रंगशालामा भोलि बिहीबार दिउँसो सवा तीन बजे सुरु हुनेछ।
नेपालसँगको खेलअघि इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताएका छन्। उनले नेपाली समर्थकहरूको उल्लेख गर्दै रंगशालामा ठूलो दर्शक उपस्थिति रहने अपेक्षा गरिएको र त्यसलाई दबाब होइन अवसरका रूपमा लिने बताए। हजारौँ दर्शकका अगाडि खेल्नु खेलाडीका लागि विशेष अनुभव हुने उनको भनाइ छ।
यद्यपि काँधको चोटका कारण म्याडसेन नेपालविरुद्धको खेलमा सहभागी हुन नसक्ने भएका छन्। उनको अनुपस्थितिमा उपकप्तान ह्यारी मानेन्टीले टोलीको नेतृत्व गर्नेछन्।
इटालीका प्रशिक्षक जोन डेभिसनले नेपालले इंग्ल्याण्डविरुद्ध दिएको कडा प्रतिस्पर्धाबाट आफूहरूले धेरै कुरा सिकेको बताए। टी–२० क्रिकेटमा जुनसुकै टोलीले जित्न सक्ने भन्दै उनले नेपाल बलियो टोली भए पनि आफूहरूको लक्ष्य जित नै रहेको उल्लेख गरे। अभ्यास खेलमा युएईलाई पराजित गरेको अनुभवले टोलीको आत्मविश्वास बढाएको उनले बताए।
डेभिसनले खेलाडीहरूलाई निडर भएर खुलेर खेल्न निर्देशन दिएका छन्। अघिल्लो खेलमा भएका कमजोरी सुधार्दै लामो समय टिकेर खेल्ने लक्ष्य रहेको उनको भनाइ छ।
इटाली टोलीका धेरै खेलाडी पूर्णकालीन व्यावसायिक क्रिकेटर नभएको उल्लेख गर्दै म्याडसेनले विश्वकपमा सहभागिता नै ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इटालीमा क्रिकेटको विकासका लागि यो प्रतियोगिता महत्वपूर्ण आधार बन्नेछ र आगामी पुस्तालाई क्रिकेटतर्फ आकर्षित गर्ने उद्देश्य टोलीको रहेको छ।
प्रशिक्षक डेभिसनले नेपालको बलियो पक्ष भनेको टोलीले लामो समयदेखि सँगै खेल्दै आएको अनुभव भएको बताए। इटालीका खेलाडीहरू विभिन्न देशमा बसोबास गर्ने भएकाले टोलीलाई सँगै खेल्ने अवसर कम मिल्ने भए पनि खेलको परिस्थितिसँग छिटो अनुकूल हुन सक्ने टोलीले जित हासिल गर्ने उनको विश्वास छ।


