Saturday, June 6, 2026
Homeखेलकुदमाघ १६ गते आठौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना हुने

माघ १६ गते आठौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना हुने

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते सहिद दिवसको अवसरमा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको उक्त अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने, प्रतिभा पहिचान तथा उजागर गर्ने अभियानसमेत भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाका अनुसार अल्ट्रा म्याराथन व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटदेखि व्यास नगरपालिका–८ स्थित सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर लामो दूरीमा सञ्चालन हुनेछ ।

नगर प्रमुख न्यौपानेका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ,” उनले भने ।

अल्ट्रा म्याराथन मानुङकोटबाट अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म सञ्चालन हुनेछ ।

व्यास नगरपालिका–६ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने काम गरेको बताए । उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैँमा पर्यटन सम्भावनाले भरिपूर्ण छ ।

नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । धावकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकपोइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा प्राथमिक उपचार टोली परिचालन गरिने उनले बताए ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु. ८५ हजार ७७, रु. ६५ हजार ७७ र रु. ५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिनेछ । साथै पाँच जना धावकलाई सान्त्वना पुरस्कार स्वरूप रु. १६ हजार ७७ प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका