न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यससँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलोपटक संघीय न्यायाधीशसमक्ष पेस गर्न लागिएको हो।
प्रक्रियागत रूपमा सामान्य देखिए पनि यो उपस्थितिले वर्षौँसम्म चल्न सक्ने कानुनी लडाइँको सुरुआत गर्नेछ। अमेरिकी समयअनुसार सोमबार दिउँसो १२ बजे सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोमाथि लगाइएका आरोपहरू पढेर सुनाउनेछन्।
अमेरिकी सरकारले पछिल्ला १५ वर्षदेखि लागुऔषध तस्करीसम्बन्धी मुद्दामा अनुसन्धान गर्दै आएको छ, जसमा मादुरोलाई पछिल्ला छ वर्षदेखि मुख्य प्रतिवादीका रूपमा राखिएको छ। यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के. हेलरस्टिनको इजलासमा हुनेछ। हेलरस्टिनले एक दशकभन्दा बढी समयदेखि यस मामिलालाई सम्हाल्दै आएका छन्।
मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल देखिएको छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउन कडा सुरक्षा व्यवस्था गरिएको छ।
एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह नै सबै कानुनी अधिकार पाउनेछन्। यसमा मौन बस्ने अधिकार र भविष्यका सुनुवाइमा गवाही दिने वा नदिने निर्णय गर्ने अधिकार समावेश छन्।
कागजमा सामान्य देखिने यो अदालती हाजिरीको भूराजनीतिक र कानुनी महत्त्व भने अत्यन्त ठूलो छ। मादुरो र उनकी श्रीमतीले अमेरिकी अदालती प्रक्रियामा कत्तिको सहयोग गर्छन् वा मौन बस्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
पूर्व राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि थुप्रै उच्च–प्रोफाइल मुद्दा हेरिसकेकाले यो सुनुवाइलाई विश्वभर चासोका साथ हेरिएको छ।


