काठमाडौं : पछिल्लो समय निरन्तर उछाल आएको सेयर बजारले सोमबार ऐतिहासिक उचाइ हासिल गरेको छ। नेप्से परिसूचकले तीन हजारको मनोवैज्ञानिक विन्दु शानदार रुपमा पार गर्दै नयाँ रेकर्ड बनाएको हो। साताको दोस्रो दिन सोमबार नेप्से सूचक यस दिन ४२.७२ अंकले बढेर ३०२५.८३ अंकमा आइपुगेको हो । यो अहिलेसम्मको उच्चतम विन्दु हो।
नेप्सेमा भारी वृद्धिसँगै कारोबारमा पनि उस्तै व्यापक उत्साह छ। सोमबार १८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बुलिस बजारमा यति धेरै भोलुममा कारोबार हुनुले बजार अझै बलियो र परिपक्क बन्दै गएको विज्ञहरू बताउँछन्।
सेयर बजारमा सबैभन्दा सुरक्षित र सस्तो मानिएको बैंकिङ समूहको बजार मूल्य लामो समय स्थिर थियो। बैंकिङतिर लगानीकर्ताहरूको आकर्षण देखिएकोले बजार अझै बढ्ने संकेत देखिएको छ। बैंकिङ सेक्टरको बुलिस ट्रेन्ड केही दिन कामयै रहने विज्ञहरू बताउँछन्। यसअघि लगानीकर्ताहरू हाइड्रो, फाइनान्स र विकास बैंकतिर बढी झुम्मिएका थिए।
कोरोना जोखिम, लकडाउन र राजनीतिक अन्योललाई समेत बेवास्ता गर्दै सेयर बजारमा पछिल्ला दिनमा निरन्तर उछाल देखिएको छ। हरेक दिनजसो कम्तीमा पनि १० अर्ब भन्दा माथि कारोबार भइरहेको छ। कारोबारको यो भोलुम निकै उत्साहजनक रहेकोले बजार अझ् माथि जाने आंकलन विज्ञहरूले गरेका छन्।
कोरोनाको बढ्दो जोखिम तथा निरन्तरको राजनीतिक अस्थिरताका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएकोले लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आएको बेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोना जोखिमका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। त्यहीं पैसा यतिबेला सेयर बजार ओइरिएको छ।
लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर अझै पनि खासै बढेको छैन। बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित भएका हुन्।
बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा आकर्षक कमाइ देखिएकोले पनि लगानीकर्ताको आकर्षण अब बैंकिङतिर केन्द्रित हुने देखिन्छ। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो। अब एक दुई महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्न सकिन्छ। वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजार ‘बुलिस रन’ मा अझ् अघि बढ्ने विश्वास लगानीकर्ताहरूको देखिन्छ।


