काठमाडौं, नेपाल – विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको छ।
फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका अत्यन्तै सम्मानित र अनुभवी खेलाडीमध्ये एक हुन्। उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीका कप्तानको रूपमा नेतृत्व गरेको साथै भारतीय प्रिमियर लिग (IPL) अन्तर्गतको प्रतिष्ठित टिम रोयल च्यालेन्जर्स बेंगलोर (RCB) का कप्तानको रूपमा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन्। उनी आफ्नो रणनीतिक सोच, स्थायित्व, र आक्रामक ब्याटिङ शैलीका कारण विश्व क्रिकेटमा उच्च सम्मानका साथ चिनिन्छन्। उनको अनुभव र नेतृत्व क्षमताले विराटनगर किंग्सको टोलीलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
विराटनगर किंग्सका टिम निर्देशक दिपेन्द्र चौधरीले भने, “फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडीको आगमन बिराटनगर किंग्स र NPL दुवैका लागि गर्वको विषय हो। उनको उपस्थितिले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूलाई पनि NPL मा सहभागी हुन प्रेरणा दिनेछ।”
उनका अनुसार, फाफ डु प्लेसिसको उपस्थितिले बिराटनगर किंग्सका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट सिक्ने अमूल्य अवसर प्रदान गर्नेछ। साथै, यसले NPL लाई विश्व क्रिकेटको मञ्चमा उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ। अब बिराटनगर किंग्स फाफ डु प्लेसिसको नेतृत्वमा नयाँ जोश, आत्मविश्वास, र लक्ष्यका साथ NPL सिजन–२ का लागि मैदानमा उत्रिने तयारीमा छ।
बिराटनगर किंग्सका बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज हो। टोलीको उद्देश्य स्थानीय प्रतिभा उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु, र फ्यान तथा समुदायसँग बलियो सम्बन्ध निर्माण गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।


