Saturday, June 6, 2026
Homeखेलकुदलुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

भैरहवा । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा एक्स्ट्राटेक ओभलका तर्फबाट श्री बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष श्री ईश्वर जिसीले हस्ताक्षर गरेका छन्।

यो सम्झौता मार्फत नेपालमा खेल पूर्वाधार विकासको दिशामा ऐतिहासिक कदम चालिएको विश्वास गरिएको छ। सम्झौताअनुसार, एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ।

यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित रहेको छ। सम्झौताअनुसार, लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प र रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ। साथै, आगामी वर्षहरूमा लिग तयारीका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ।

सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष श्री ईश्वर जिसीले भने,

“एक्स्ट्राटेक ओभल हाम्रो लागि केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो। यही स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ।”

उनले थपे,

“निजी लगानीमा यति ठूलो पूर्वाधार निर्माण गरी रहनु भएका एक्स्ट्रा ओभर टीमलाई विशेष धन्यवाद। हामी उहाँहरूलाई हौसला प्रदान गर्दै सहयात्री बनेका छौं। यस साझेदारीले लुम्बिनी मात्र होइन, समग्र नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने हामीलाई दृढ विश्वास छ।”

त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि श्री बिनोद कुँवरले भने,

“नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा यो साझेदारीले हाम्रो प्रयासलाई अझ दृढ बनाउनेछ। लुम्बिनी प्रदेशको क्रिकेट विकासमा यो सम्झौताले दूरगामी सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो साझा विश्वास हो।”

सम्झौताअनुसार, एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण र क्लब हाउस सुविधा उपलब्ध गराइनेछ। यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र नयाँ खेलाडी उत्पादनमा नयाँ सम्भावना सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका