काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। यो लिगको ८६औँ खेल हो।
आइतबार हुने खेलमा नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भिड्नेछ। खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
यूएई शृङ्खलाको सुरुवात नेपालले आज अमेरिकाविरुद्धको खेलबाट गर्न लागेको हो। केही दिनअघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली हाल अंकतालिकाको सातौँ स्थानमा रहेको छ। २० खेल खेलिसकेको अमेरिका भने २८ अंकसहित दोस्रो स्थानमा छ।
लिग–२ अन्तर्गत यूएई र अमेरिकासँगका खेलहरू आइतबारदेखि कात्तिक १९ गते (बुधबार)सम्म हुनेछ। नेपालले दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) यूएईसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेलमा नेपालले कात्तिक १५ गते (शनिबार) अमेरिकासँग पुनः प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा कात्तिक १९ गते (बुधबार) यूएईसँग भिड्ने तालिका छ।


