Saturday, June 6, 2026
Homeखेलकुदयस वर्षको ‘भूजी लिग’ को उपाधि लिभुरालाई

यस वर्षको ‘भूजी लिग’ को उपाधि लिभुरालाई

रामेछाप — यस वर्षको ‘भूजी लिग फुटबल प्रतियोगिता’ को उपाधि लिखु भूजी युवा क्लब रामेछाप (लिभुरा) ले जितेको छ। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लिभुराले उपाधिसँगै स्थानीय फुटबलमा आफ्नो दबदबा कायम गरेको हो।

भूजीको अमृत घामछायाँ खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा लिभुराले बाम्ती भण्डारलाई १–० गोलले पराजित गर्दै विजेता बनेको हो। खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो।

पहिलो हाफमा दुबै टोलीले समान अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा खेल बराबरीतर्फ उन्मुख देखिँदै गर्दा ८९ औं मिनेटमा लिभुराका ९ नम्बर खेलाडी बिनत सुनुवारले निर्णायक गोल गर्दै टोलीलाई उपाधिसम्म पुर्‍याए।

विजेता लिभुराले नगद १ लाख २७ हजार ७ सय २७ रुपैयाँ, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता बाम्ती भण्डारले ६७ हजार ७ सय २७ रुपैयाँ नगद र रजत पदकमा चित्त बुझायो। आयोजक भूजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारका अनुसार प्रतियोगिता यस वर्ष पनि उत्साहजनक सहभागिता र शालीन खेल प्रदर्शनका साथ सफल भएको हो।

खेलमा लिभुराका सुजन सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए। पुरुष लिगमा कुल ९ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताको सञ्चालन तथा संयोजन भूजी फुटबल क्लबले गरेको थियो।

यस्तै, भूजी लिग अन्तर्गत महिला फुटबल प्रतियोगितामा पनि लिखु भूजी रामेछाप ‘ए’ टिमले उपाधि हात पारेको छ। फाइनलमा ‘ए’ टिमले आफ्नै ‘बी’ टिमलाई १–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो।

विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता टिमले २० हजार रुपैयाँ नगद पायो। महिला तर्फ कुल ३ टोलीले सहभागिता जनाएका थिए।

समापन समारोह उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा विजयी टोली, उत्कृष्ट खेलाडी र निर्णायकहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष शुभराज सुनुवारले खेलकुदले स्थानीय स्तरमा एकता, अनुशासन र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आगामी वर्ष प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।

भूजी लिग फुटबल प्रतियोगिता रामेछाप जिल्लामा स्थानीय खेल प्रतिभा पहिचान र फुटबलमार्फत समुदायबीचको सम्बन्ध सुदृढ गर्न सञ्चालन गरिएको वार्षिक कार्यक्रम हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका