काठमाडौँ– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा सुरक्षा निकायको साथबाट हराएका हतियार र खरखजान फेला परे नजिकैको सुरक्षा निकायमा यही असोज मसान्तभित्र बुझाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, तोकिएको म्यादभित्र हराएका हतियार वा खरखजान बुझाउने वा जानकारी दिने व्यक्तिलाई मन्त्रालयले उचित सम्मान गर्नेछ । तर तोकिएको म्यादपछि फेला परे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यसैबीच, सोही घटनामा भएका भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ । गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगलाई जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय दिने कार्यादेश दिइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता काफ्लेले आयोगको कार्यक्षेत्रभित्रका विषयमा नियमित सरकारी संयन्त्रबाट तत्काल कारबाही नहुने तर गैरकानुनी गतिविधिमा भने कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभयो ।


