Sunday, November 8, 2026
Homeसामाचारसंघ संस्था ऐन २०८२ को मस्यौदामाथि गैसस महासंघको आपत्ति

संघ संस्था ऐन २०८२ को मस्यौदामाथि गैसस महासंघको आपत्ति

नेपाल सरकारले तयार पारेको संघ संस्था ऐन २०८२ को मस्यौदाप्रति गैरसरकारी संस्था महासंघ नेपाल (गैसस महासंघ) ले गम्भीर आपत्ति जनाएको छ। महासंघले राय संकलनको नाममा अघि बढाइएको प्रक्रिया पारदर्शी नभएको र मस्यौदाले नागरिक स्वतन्त्रता, सहभागिता र पारदर्शितामा ठेस पुर्‍याउने ठहर गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन २०४९ लाई एकीकृत गरी ल्याइएको मस्यौदामा धेरै प्रावधान नागरिक अधिकार कटौती गर्ने खालका छन्।”

महासंघको आरोप छ कि सहजीकरण गर्ने नाममा अनावश्यक प्रशासनिक झन्झट थपिएको, विभिन्न सरकारी निकायमा अनावश्यक अधिकार केन्द्रीकरण गरिएको र यसले संघसंस्थाको स्वतन्त्रता तथा सहज सञ्चालनमा बाधा पुर्‍याउने अवस्था देखिएको छ।

अध्यक्ष अर्जुन भट्टराई र महासचिव देवी खड्काले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, “संघ संस्था प्रवर्धन र सहजीकरण गर्न कानून आवश्यक छ भन्ने हामी सहमत छौं। तर, सरोकारवालासँग कुनै परामर्श नगरी ल्याइएको मस्यौदाले सहजीकरण होइन नियन्त्रण गर्ने उद्देश्य बोकेको छ।”

महासंघले यो मस्यौदा अग्रगामीभन्दा बढी पश्चगामी र झन्झटिलो भएको ठहर गर्दै, लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक अधिकार र नागरिक स्वतन्त्रतालाई संकुचित गर्ने खालको भएको गम्भीर असहमति जनाएको छ।

साथै, प्रस्तावित मस्यौदालाई संघसंस्थामैत्री बनाउन र मौलिक हक–अधिकारको सम्मानसहित कार्यमूलक वातावरण सृजना गर्न सरोकारवालासँग वृहत छलफल गरी पुनःसंशोधन गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका