काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। यसअघिका तीन खेलमा लगातार पराजित भएको नेपालले मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो।
डार्विनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रनको योगफल खडा गर्यो। जवाफी ब्याटिङमा होबार्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो।
नेपालका नन्दन यादवले घातक बलिङ गर्दै ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट थपे।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन योगदान दिए भने ओपनर आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रन जोडे। अन्तिमतिर लोकेश बमले १० बलमा २५ रनको तिव्र खेल प्रदर्शन गरे।
सिरिजअन्तर्गत नेपालले यसअघि नर्दन टेरेटोरी, बंगलादेश ‘ए’ र मेलबर्न स्टार्स एकेडेमीसँग हार व्यहोरेको थियो। अब नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।
आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको छनोट तयारी स्वरूप नेपालले यो सिरिज खेलिरहेको हो। सिरिजपछि नेपालले अस्ट्रेलियामै थप अभ्यास खेल खेल्ने र सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने कार्यक्रम छ।


