काठमाडौं। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा हार व्यहोरेको छ। स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित भयो।
१७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन जोडे भने गुल्शन झाले २६, कप्तान रोहित पौडेलले २३ र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए। नर्दर्न टेरिटोरीका म्याट हेमण्डले ३ विकेट, केन रिचार्डसन र टम एन्ड्रयुजले समान २–२ विकेट लिए।
यसअघि, मरारा क्रिकेट ग्राउण्ड–२ मा टस जितेर बलिङ रोजेको नेपालले नर्दर्न टेरिटोरीलाई २० ओभरमा ८ विकेटमा १७७ रनमै रोक्यो। ओपनर डार्सी शर्टले ५१ रनको अर्धशतक प्रहार गरे भने टम एन्ड्रयुजले अविजित ३२, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र जेक वेदराल्डले ११ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट झारे। शाहब आलमले २ विकेट लिँदा, गुल्शन झा, दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए।


