काठमाडौं: इरानसँगको युद्धबीच इजरायल झन् आक्रामक बन्दै गएको छ। दुवै देशले एकअर्कामाथि मिसाइल आक्रमण गरिरहेका छन्। यसै सन्दर्भमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले आफू र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हत्या गर्न खोजेको दाबी गरेका छन्।
नेतान्याहूले इरानी सरकारले ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोप लगाउँदै भनेका छन्, “इरानले ट्रम्पलाई आफ्नो पहिलो शत्रु मान्छ। उनका कठोर कदमहरूका कारण उनीहरू उनलाई समाप्त गर्न चाहन्छन्।”
फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले भने, “उनीहरू (इरानीहरू) ट्रम्पलाई मार्न चाहन्छन्। उनीहरूका नजरमा ट्रम्प शत्रु नम्बर एक हुन्। उनी एक निर्णायक नेता हुन्, कहिल्यै कमजोरी देखाउने बाटो रोज्दैनन्।”
नेतान्याहूले इरानले आफूलाई पनि लक्षित गरेको दाबी गर्दै भने, “एक इरानी मिसाइल मेरो शयनकक्षको झ्यालमा खस्यो। मलाई पनि हत्या गर्ने प्रयास गरिएको थियो।” उनले इरानको आणविक महत्वाकांक्षा रोक्न आफू अमेरिकी राष्ट्रपति ट्रम्पको कनिष्ठ साझेदार भएको उल्लेख गरे।
इजरायली सैन्य कारबाहीलाई उचित ठहर गर्दै उनले भने, “देश अहिले अस्तित्वको खतरामा छ। इरानको आणविक कार्यक्रमले हाम्रो अस्तित्व नै संकटमा पारेको छ। पहिलो, इरान युरेनियम समृद्ध गर्दै आणविक हतियार बनाउनेतर्फ उन्मुख छ। दोस्रो, उसले आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्रको भण्डार एक वर्षमै ३,६०० पुर्याएको छ। यो संख्या तीन वर्षमा १०,००० र छ वर्षमा २०,००० पुग्न सक्छ। यस्तो खतराबाट कुनै पनि देश, विशेषगरी इजरायल, सुरक्षित रहन सक्दैन।”
उनको भनाइमा, “इजरायलले केवल आफ्नै सुरक्षा गरिरहेको छैन, इरानबाट आउने खतराबाट विश्व समुदायलाई पनि जोगाइरहेको छ।”


