काठमाडौं: इजरायलको हालैको आक्रमणलाई लिएर चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री सय्यद अब्बास अरघचीबीच शनिबार टेलिफोन वार्ता भएको छ। चीनको विदेश मन्त्रालयले वार्ताबारे आधिकारिक विज्ञप्ति जारी गर्दै घटनाप्रति चीनको गम्भीर चासो र आपत्ति जनाएको छ।
विज्ञप्तिअनुसार, अरघचीले वाङ यीलाई क्षेत्रीय परिस्थिति र पछिल्ला घटनाक्रमबारे जानकारी गराउँदै इजरायलको आक्रमणमा इरानी सैनिक र सर्वसाधारणको ज्यान गएको र आणविक स्थलहरूलाई पनि निशाना बनाएको जानकारी गराएका थिए। उनले उक्त आक्रमण अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरे।
इरानी पक्षले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिनुपर्नेमा जोड दियो। जवाफमा वाङ यीले चीनले आक्रमणको तुरुन्तै विरोध जनाउँदै आफ्नो स्पष्ट अडान सार्वजनिक गरिसकेको बताए।
वाङ यीले भने, “चीन इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन गर्ने इजरायली कारबाहीको कडा विरोध गर्दछ। यसले संयुक्त राष्ट्रसंघका नियम र अन्तर्राष्ट्रिय सम्बन्धका मूलभूत सिद्धान्तहरूको उल्लङ्घन गरेको छ।”
चीनले आणविक स्थलमाथिको आक्रमणलाई गम्भीर चिन्ताको विषय भन्दै त्यसले क्षेत्रीय स्थायित्वलाई जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। साथै, चीनले इजरायलमाथि प्रभाव राख्ने देशहरूलाई शान्ति र स्थिरताका लागि प्रभावकारी र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।


