काभ्रेपलाञ्चोक। काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र वैकल्पिक मार्ग बिपी राजमार्गका धेरै सडकखण्ड अहिले जीर्ण अवस्थामा छन्। भूकम्प र बाढीका कारण पटक–पटक क्षति व्यहोर्दै आएको यस राजमार्गमा हाल वर्षायाम सुरु भइसकेकाले पुनः ठूलो क्षति हुने अनुमान गरिएको छ।
गत असोजमा काभ्रेको रोशी खोलामा आएको बाढीले भकुन्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा गम्भीर क्षति पुर्याएको थियो। कालढुंगा, डालाबेंसी, चिउरीबास, नेपालथोकलगायत क्षेत्रमा सयौं मिटर सडक बगाएका छन्। अस्थायी मर्मत गरिएको भए पनि वैशाख अन्तिम साता आएको बाढीले फेरि डाइभर्सन र ट्रयाक बगाएको छ।
बिपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि सरकारले साढे ८ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ। सडक विभागको प्रतिवेदनअनुसार करिब ३० किलोमिटर सडक पुनर्निर्माणमा १० अर्ब लाग्नेछ। त्यसमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा कटान भएको छ, जसका लागि नयाँ ट्रयाक आवश्यक पर्ने देखिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरले काभ्रे र सिन्धुली खण्ड गरी चारवटा प्याकेजमा पुनर्निर्माण योजना अघि बढाएको छ। तीन खण्ड नेपाल सरकारको लागतमा र एक खण्ड जापान सरकार (जाइका)को सम्भावित सहयोगमा निर्माण गरिनेछ। काभ्रे खण्डमा भकुन्डेबेंसी–चार सय बेँसी (११ किमी), डालाबेंसी–चार सय बेँसी (८.५ किमी) र सिन्धुली खण्डमा बर्खेखोला–नेपालथोक (४ किमी) सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ।
जाइकाले बर्खेखोला–डालाबेंसी (५.५ किमी) खण्डको डिजाइन थालिसकेको छ, जसमा सुरुङमार्ग वा अग्ला पुल (भायाडक्ट) जस्ता संरचना समावेश हुनसक्ने जनाइएको छ।
यस राजमार्गको दैनिक सवारी चाप ३,००० भन्दा बढी रहेको छ, जसमा ६०० भन्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर चल्ने गरेका छन्। जाइकाको प्राविधिक सिफारिस अनुसार १६ टनभन्दा माथिको सवारी सञ्चालन रोकिएको भए पनि व्यावसायिक प्रभावका कारण २५ टनसम्मका ट्रिपर सञ्चालन भइरहेका छन्, जसले राजमार्गको संरचना थप कमजोर बनाएको छ।
अहिले मनसुनको समयमा सवारी अवरुद्ध नहोस् भनेर डिभिजन कार्यालयले खोलाका बहाव मोडेर र निर्माण सामग्री प्रयोग गरी अस्थायी सडकलाई तीनदेखि सात मिटर उचाइमा बनाइरहेको छ।
बिपी राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास खण्डमा निर्माण भई २०७२ असार १८ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। आजसम्म यो मार्ग काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, व्यस्त र महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा चिनिन्छ।
राजकुमार पराजुली/रासस


