म्याग्दी: बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप सिकाउन थालेको छ। नगरप्रमुख सुरत केसीका अनुसार, शिक्षालाई सीप र श्रमसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
नगरप्रमुख केसीले भन्नुभयो, “माध्यमिक तहसम्मको शिक्षा प्राप्त गरेपछि विद्यार्थीहरूले आफ्नै रुचिअनुसारको व्यवसाय गर्न, घर-टोलका आवश्यक काम गर्न र आत्मनिर्भर बन्न सकून् भन्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो। यसले स्वरोजगार तथा रोजगारी सिर्जनामा सहयोग पुग्नेछ।”
आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले नगरका १६ वटै माध्यमिक विद्यालयलाई रु एक–एक लाखका दरले कुल रु १६ लाख बजेट विनियोजन गरेको छ। तीमध्ये १२ विद्यालयले कार्यान्वयनका लागि सम्झौता गरिसकेका छन् भने चार विद्यालय सम्झौताको चरणमा छन्, नगर शिक्षा शाखाका प्रमुख कमल ढकालले जानकारी दिनुभयो।
विद्यालयहरूले सञ्चालन गरेका सीपमूलक तालिमहरू:
दीपक मावि, पात्लेखेत: च्याउखेती
जामुनाखर्क मावि, अर्थुङ्गे: सौन्दर्यकला (ब्युटी पार्लर) तालिम
बालमन्दिर मावि, बेनी: पलम्बिङ
राष्ट्रिय मावि, नेप्टेचौर: कपाल काट्ने तालिम
अर्जुन मावि, भकुण्डे: भित्तेलेखन
रामचन्द्र मावि, अर्जम: हाउस वायरिङ
जयन्ती मावि, भकिम्ली: अकबरे खुर्सानी तथा तरकारीखेती
पौलत्स्य मावि, भिरमुनी: हाते ट्र्याक्टर मर्मत
जनकल्याण मावि, पुलाचौर: बाँसका सामग्री बनाउने
यसका साथै,
बेनी सामुदायिक मावि: शैलुन तालिम
प्रकाश मावि: हाउस वायरिङ
गलेश्वर मावि, तोरीपानी: प्राविधिक धारका विद्यार्थीका लागि फिल्ड सर्वेक्षण तालिम
कार्यक्रम प्रस्ताव नपेस गरेका विद्यालयहरू:
जडभरत संस्कृत मावि, गलेश्वर
धवलागिरि मावि, सिङ्गा
सरस्वती मावि, तातोपानी
भानु मावि, रत्नेचौर
यस कार्यक्रम २०७९/८० मा १० वटा विद्यालयबाट सुरु भएको थियो। त्यसको सकारात्मक परिणामपछि २०८०/८१ र २०८१/८२ मा सबै १६ माध्यमिक विद्यालयमा विस्तार गरिएको हो। तालिम विद्यार्थीहरूका लागि बिहान–बेलुकी अनुकूल समय मिलाएर आलोपालो सञ्चालन गरिँदैछ। बेनी नगरपालिकाका करिब एक हजार विद्यार्थी यो सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ।


