काठमाडौं। साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
शुक्रबार भारतको अरुणाञ्चलस्थित गोल्डन जुब्ली रंगशालामा सम्पन्न खेलमा नेपाल २-१ गोलले बंगलादेशसँग पराजित भयो।
बंगलादेशका लागि अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरे भने नेपालका तर्फबाट सुजन डंगोलले एक गोल फर्काए। खेलको ७३औं मिनेटमा अशिकुरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि कप्तान नज्मुलले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजन डंगोलले नेपालका लागि एक गोल फर्काउँदै फर्कने संकेत दिए पनि समय अभावका कारण त्यो प्रयास असफल रह्यो।
समूह चरणमा नेपालले श्रीलंकालाई ५-० ले हराउँदै शानदार सुरुवात गरेको थियो। तर दोस्रो खेलमा घरेलु टोली भारतसँग ४-० को ठूलो हार बेहोरेको थियो।
बंगलादेशले भने समूह चरणमा माल्दिभ्ससँग २-२ को बराबरी खेलेको थियो भने भुटानलाई ३-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


