काठमाडौँ: हाल देशमा मुख्यतः स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहेको छ।
कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो मौसमीय स्थिति राति पनि कायम रहनेछ।
महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।


