Sunday, April 26, 2026
Homeशिक्षासुदूरपश्चिममा ६ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री, आठ करोडभन्दा बढी आम्दानी

सुदूरपश्चिममा ६ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री, आठ करोडभन्दा बढी आम्दानी

अत्तरिया (कैलाली): जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा हालसम्म ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ। स्थानीय पुस्तक विक्रेतामार्फत बिक्री गरिएका यी पुस्तकबाट केन्द्रले आठ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ।

कार्यालयका प्रमुख रामविनय श्रेष्ठका अनुसार चैत १७ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिएको हो। “बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाम जिल्लामा पुस्तक पुगिसकेको छ भने डोटी र डडेल्धुरामा पुस्तक पठाउने क्रम जारी छ। सबै जिल्लामा समयमै पुस्तक पु-याउने तयारी छ,” उहाँले बताउनुभयो।

कञ्चनपुर जिल्लामा चैत २६ गतेदेखि र कैलाली जिल्लामा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु हुने बताउँदै प्रमुख श्रेष्ठले भने, “पाठ्यपुस्तक पर्याप्त मात्रामा छ। सत्र सुरु हुनुअगावै सबै जिल्लामा वितरण हुनेछ।”

कक्षा ३ देखि १० सम्मका पुस्तक अहिले सक्रिय रूपमा बिक्री भइरहेको र कक्षा ११ तथा १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिँदै उहाँले सुदूरपश्चिम प्रदेशमा यस सत्रमा कुल १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो।

केन्द्रका अनुसार सत्रभरमा करीब २५ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य छ। अघिल्लो शैक्षिक सत्रमा भने २२ करोड ५७ लाख रुपैयाँ बराबरका पुस्तक बिक्री भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका