Sunday, April 26, 2026
Homeशिक्षाशिक्षकहरुले सडकमा बसिरहनु पर्दैन, संवादबाट सम्बोधन गर्नेछौंः प्रधानमन्त्री

शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन, संवादबाट सम्बोधन गर्नेछौंः प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार शपथ लिएर संसद् प्रवेश गर्ने तर संविधान नमान्ने अभिव्यक्ति दिनु इमान्दारीको खडेरी भएको टिप्पणी गरेका छन्।

फरेन अफेयर्स मिडियाले आयोजना गरेको ‘हिमालयन डायलग’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछि परेको बताए। उनले राजनीतिक परिवर्तनपछि जनताले गरेका अपेक्षाका बीच आफूहरुले विकास र सुशासनको यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको उल्लेख गरे।

राजतन्त्र समर्थकहरूप्रति लक्षित गर्दै उनले भने, “पराजित सामन्तवाद अझै पनि फर्कन चाहन्छ। मलाई साथ देऊ भन्दैछ। तर संविधानकै व्यवस्था अनुसार शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भन्नु भनेको इमान्दारीको खडेरी हो।” यस्तो प्रवृत्तिले संक्रमणकाल अझै लम्बिन सक्ने उनको चेतावनी थियो।

प्रधानमन्त्री ओलीले जायज माग लिएर आएका आवाजप्रति सरकार संवेदनशील रहेको बताए। “हावा जता ढल्किन्छ, त्यतै बग्ने प्रवृत्ति हुन्छ। तर जो सडकमा छन्, शिक्षकहरू दुःख पाइरहेका छन्, तिनीहरूको माग हामी संवादबाट सम्बोधन गर्छौं,” उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले नेपालले आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय दायित्व पनि निर्वाह गर्नुपर्ने बताए। हिमालले बंगालको खाडीको तातो हावा रोक्ने, समुद्रलाई धेरै तातिन नदिने र मरुभूमिकरणबाट क्षेत्रीय तथा वैश्विक स्तरमा सुरक्षा दिने कार्य गरिरहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक र प्राकृतिक भूमिका झल्काए।

“हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ। विविधताका बीचमा एकता आवश्यक छ। बिना एकता हामीले चाहेका उपलब्धि हासिल गर्न सक्दैनौं,” प्रधानमन्त्री ओलीले भने, “विविधता अभिशाप होइन, सम्पत्ति हो।”

राष्ट्रिय हितप्रति सजग हुँदै प्रधानमन्त्री ओलीले विश्वका चुनौतीहरूप्रति नेपालले मानव हित र शान्तिका पक्षमा योगदान दिनुपर्ने बताए। उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै भने, “कुनै छिमेकीसँग बढी मित्रता देखाउने कोल्टिने राजनीति गर्नु हुँदैन। हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौं। हामी शान्तिका पक्षमा छौं।”

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिबारे दुई सत्रमा छलफल गर्ने जानकारी फरेन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका