Saturday, June 27, 2026
Homeराजनीतिदोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

काठमाडौँ: राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनका क्रममा सञ्चार गृहहरूमा भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु हुनु, विभिन्न सञ्चार गृहहरूमा आगजनी र तोडफोड हुनु, भवनहरूमा जबरजस्ती प्रवेश गर्न खोजिनु, ढुङ्गा हानिनु तथा सञ्चारकर्मीहरूलाई त्रसित तुल्याउने कार्यहरूप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।

एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको समाचार सङ्कलनका क्रममा आगो लागेर मृत्यु भएको पुष्टि भएको छ। त्यसैगरी, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएको छ। कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि ढुङ्गामुढा प्रहार गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ। हिमालयन टेलिभिजनको सवारीसाधनसमेत तोडफोड भएको जानकारी महासङ्घले दिएको छ।

महासङ्घले जनतालाई सुसूचित गराउने प्रेसमाथि ज्यानै जाने गरी भएको हमला घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य भएको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शन गर्नु संवैधानिक अधिकार हो, तर आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै लिने, प्रेसलाई त्रासमा राख्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन।” महासङ्घले यस्ता घटनामा संलग्न जोकोहीलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ।

महासङ्घले सरकारलाई सञ्चार गृहहरूमा भएको क्षतिको क्षतिपूर्ति दिन, सञ्चारकर्मीहरूको सुरक्षामा गम्भीर हुन र लोकतन्त्र तथा प्रेसविरोधी क्रियाकलाप दोहोरिन नदिन कडा कदम चाल्न आग्रह गरेको छ। साथै, यस्ता हर्कत दोहोरिए महासङ्घ बाध्य भएर प्रतिरोध गर्ने चेतावनी दिएको छ।

यसैबीच, पत्रकार सुरेश रजकको जलेर निधन भएको घटनाप्रति महासङ्घ स्तब्ध भएको बताउँदै, सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। मृतक पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायतका सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले पनि आजको घटनाप्रति गहिरो आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न, स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलनको सुनिश्चितता गर्न तथा सञ्चार गृह र सञ्चारकर्मीहरूको सुरक्षामा गम्भीर ध्यान दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका