Saturday, June 27, 2026
Homeराजनीतिजनताको इच्छाअनुसार गणतन्त्र आएको हो, हट्नेवाला छैन: सभापति देउवा

जनताको इच्छाअनुसार गणतन्त्र आएको हो, हट्नेवाला छैन: सभापति देउवा

पाटन (ललितपुर): नेपाली कांग्रेसका सभापति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको इच्छाअनुसार बनेको भन्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन्। नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयनको महत्त्वलाई स्पष्ट पारे।

सभापति देउवाले भने, “देशको संविधानअनुसार राज्यका सबै तहमा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो संविधान सम्पूर्ण नेपाली जनताले संविधानसभाबाट जनताको इच्छाअनुसार स्वीकार गरेका हुन्, र यो व्यवस्थाको कुनै परिवर्तन सम्भव छैन।”

राजतन्त्रको पुनःस्थापनाबारे छलफल गर्दै देउवाले भने, “राजतन्त्रको पुनःस्थापना असम्भव छ। प्रजातन्त्र कुनै हालतमा हट्न सक्दैन। लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाउन हामी सबैको जिम्मेवारी हो। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हामी सबैले यो व्यवस्था ल्याएका हौं।”

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधानअनुसार प्राप्त अभिव्यक्तिको स्वतन्त्रताको सदुपयोग गर्दै अरूको अधिकारको हनन नगरी सबै प्रकारका अधिकारको अधिकतम उपयोग गर्न जोड दिएका छन्।

संविधानसभा सदस्य र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले “मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता” विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली कांग्रेसको मानवअधिकारको क्षेत्रमै गरेको योगदानको चर्चा गरे। उनले कांग्रेसको स्थापनादेखि नै मानवअधिकारका पक्षमा गरेको कार्यलाई सराहना गर्दै, २०४७ सालको संविधानमा स्वतन्त्रता सम्बन्धी हकको स्थापनासमेत उल्लेख गरे।

कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको २०४७ को संविधानमा मृत्युदण्डको व्यवस्था हटाएर मानवअधिकारको संरक्षणको पक्षमा उल्लेखनीय काम गरेको उनले बताए।

विभागकी प्रमुख र केन्द्रीय सदस्य धना खतिवडाले समाजमा मानवअधिकार र लोकतन्त्र बिना समृद्धि सम्भव नहुने बताउँदै आज पनि समाजमा रहेका हिंसा र असमानता हटाउन सक्रिय भई काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले मानवअधिकार उल्लंघनका घटनाहरूको चर्चा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यकतामा जोड दिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका