काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले देशको सुरक्षा सेवा शिन बेट का प्रमुख रोनेन बारलाई बर्खास्त गरेका छन्। नेतान्याहूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै उनलाई पदमुक्त गरेका हुन्।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने औपचारिक निर्णय अनुमोदन गरेको छ।
सन् २०२१ मा पाँच वर्षे कार्यकालका लागि शिन बेट प्रमुख नियुक्त भएका बारलाई गत आइतबार नेतान्याहूले एक भिडियो वक्तव्य मार्फत बर्खास्त गर्ने घोषणा गरेका थिए।
प्रधानमन्त्री नेतान्याहूले “निरन्तर अविश्वास” बढ्दै गएको भन्दै बारलाई हटाउने निर्णय गरेको बताएका छन्।
यो कदमसँगै इजरायलभित्र चर्को असन्तोष उत्पन्न भएको छ। यरुशलममा सरकारविरोधी प्रदर्शनहरू तीव्र बनेका छन्, जसमा हजारौं प्रदर्शनकारी सहभागी भएका छन्।
त्यस्तै, नेतान्याहूको यो निर्णयसँगै इजरायलको गाजामा जारी सैन्य कारबाहीको विरोधमा थप प्रदर्शनहरू भएका छन्।


