Wednesday, August 12, 2026
Homeसामाचारबाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, बीपी र कान्ति लोकपथमा राति सवारी निषेध

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, बीपी र कान्ति लोकपथमा राति सवारी निषेध

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशका दर्जनभन्दा बढी सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोकको खुरकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पर्ने बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

त्यस्तै, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा निषेध गरिएको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहने जनाइएको छ।

सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङमा पहिरो खसेपछि तातोपानी जाने सडक पूर्ण रूपमा बन्द भएको हो।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन केही समय लाग्ने जनाइएको छ।

कोशी प्रदेशमा पनि सडक यातायात प्रभावित भएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डका लागि वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।

भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। वैकल्पिक मार्गसमेत रहेको उक्त स्थानमा हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडकखण्ड प्रभावित छन्। बागलुङको जैमिनी नगरपालिका क्षेत्रमा बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। दुईतर्फी यातायात सञ्चालनमा ल्याउन अझै समय लाग्ने देखिएको छ।

लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरेभञ्ज्याङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेशमा बाढीले सडक यातायात थप प्रभावित पारेको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम गरिरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका