काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।
त्यस्तै, तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। यी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।


