Thursday, October 29, 2026
Homeराजनीतिरुकुमपूर्वमा जनयुद्ध दिवस: सहिद परिवार सम्मान गर्न प्रचण्डको सहभागिता

रुकुमपूर्वमा जनयुद्ध दिवस: सहिद परिवार सम्मान गर्न प्रचण्डको सहभागिता

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ३०औँ जनयुद्ध दिवस मनाउने तयारी गरेको छ। यस अवसरमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व पुग्नुभएको छ। जनयुद्धको सुरुआत भएको क्षेत्रमै सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीय नागरिकसँग मिलेर दिवस मनाउने कार्यक्रम तय गरिएको छ।

विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध झण्डै एक दशकसम्म चलेको थियो। प्रचण्ड पहिलोपटक रुकुमपूर्वमै जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुनुभएको हो। सङ्घीय संरचना लागू भएपछि स्थापना भएको रुकुमपूर्व जनयुद्धको महत्वपूर्ण आधार क्षेत्र मानिन्छ। सोही क्षेत्रबाट प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएको छ।

भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने कार्यक्रममा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेकपा रुकुमले जनाएको छ। जनयुद्धका क्रममा रुकुमपूर्वमा २५२ जनाले ज्यान गुमाएका थिए।

जनयुद्धको ऐतिहासिक पृष्ठभूमि

राजतन्त्र अन्त्य गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने उद्देश्यसहित माओवादीले २०५२ फागुन १ मा सशस्त्र संघर्ष सुरु गरेको थियो। रुकुम, रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकी तथा सरकारी संस्थामाथि आक्रमण गरी युद्ध सुरु गरिएको थियो। त्यसपछि रुकुम र रोल्पालाई आधार इलाकाको रूपमा विकास गरिएको थियो।

जनयुद्धको क्रममा रुकुममा विभिन्न चरणमा सुरक्षाकर्मीमाथि आक्रमण तथा हतियार कब्जाका घटना भएका थिए। साथै २०६१ माघमा रुकुमको लाबाङमा बसेको बैठकले डा बाबुराम भट्टराई विरुद्ध कारबाही गर्ने निर्णय गरेको थियो। पछि २०६२ असोजमा चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा तय गर्दै शान्तिपूर्ण राजनीतिक प्रक्रियामा प्रवेश गर्ने निर्णय गरेको थियो।

शान्ति प्रक्रियासम्मको यात्रा

चुनवाङ बैठकको निर्णयपछि सात राजनीतिक दलबीच १२ बुँदे सहमति भएको थियो। उक्त सहमतिले जनआन्दोलन र जनयुद्धको संयुक्त दबाबमार्फत राजतन्त्र अन्त्य भई गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा सामाजिक न्यायसहितको राजनीतिक प्रणाली स्थापना भएको मानिन्छ।

जनयुद्ध दिवसको कार्यक्रमअघि प्रचण्डले महत गाउँ र लावाङ गाउँको भ्रमण गर्ने कार्यक्रम छ। साथै उहाँले स्थानीय नागरिकसँग भेटघाट गर्दै चुनवाङसमेत पुग्ने कार्यक्रम तय गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका