काठमाडौँ, १७ मङ्सिर — प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य (SDGs) प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व, सहभागिता र नेतृत्वलाई केन्द्रमा राखेर समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, पुनःस्थापना तथा सहभागितामा सहज पहुँच विस्तार गर्न सरकार निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्रीको सन्देशअनुसार, अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था र अपाङ्गताको गम्भीरताका आधारमा सेवा–सुविधामा प्राथमिकता सुनिश्चित गर्दै सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्नु राज्यको नीति हो।
सन्देशमा उहाँले भौतिक, दृष्टिकोणजन्य, सञ्चार तथा कानुनी सबै प्रकारका अवरोध हटाई अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त, सुरक्षित र सम्मानजनक अवस्था सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो।
उहाँले अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी तथा स्वरोजगारका कार्यक्रमलाई संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
नेपालको संविधान तथा नेपाल पक्ष राष्ट्र रहेका अन्तरराष्ट्रिय सन्धि–महासन्धिले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई व्यापक रूपमा संरक्षण गरेको प्रधानमन्त्री कार्कीले स्मरण गराउनुभयो।
उहाँले आजको दिवसले अपाङ्गता क्षेत्रका सरकारी, गैरसरकारी तथा सरोकार भएका सबै संस्थालाई अधिकार, हित, संरक्षण र सुविधाको क्षेत्रमा अझ प्रभावकारी रूपमा योगदान दिन प्रेरणा र ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।


