काठमाडौँ, १ असोज – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै अवस्थित रहेको छ। साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थान र बाँकी भागका छिटफुट स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस अवधिमा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा अन्य स्थानका केही भागमा मध्यम वर्षा हुने र कोशी, मधेस र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र ठूला–साना नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेको चेतावनी दिँदै यातायातमा अवरोध हुन सक्ने भएकाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।


