अर्घाखाँचीका लोकप्रिय गायक तथा संगीतकार विशाल रायमाझीले नयाँ म्युजिक भिडियो ‘लाहुरे टाँसेको’ सार्वजनिक गरेका छन्। काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रायमाझीले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।
नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीलाई समर्पण गर्दै उक्त गीतको छायांकन सुपादेउरालीको काखमा गरिएको छ। सुटिङका क्रममा रायमाझीले स्थानीयलाई पनि निमन्त्रणा दिएका थिए।
गीतमा शब्द तथा संगीत स्वयं रायमाझीकै रहेको छ भने उनलाई स्वरमा सलिना नेपालीले साथ दिएकी छन्। गीतले प्रदेशबाट फर्किएका लाहुरेको कथा र प्रेमलाई पन्जे बाजाको लयमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
रायमाझीको सांगीतिक यात्रा देशभित्र र बाहिरसमेत चर्चित छ। उनले ‘साइनो हरायो’, ‘गाउँका लाहुरे’, ‘पूर्वे धरान’, ‘संगिनी’, र ‘नक्कले भिनाजु’ जस्ता लोकप्रिय गीतमार्फत दर्शकको मन जितिसकेका छन्।
‘लाहुरे टाँसेको’ गीतको एरेञ्ज विश्वास नेपालले गरेका हुन् भने रेकर्डिङ राजु सुनाम र अडियो मिक्सिङ बिनोद परियारले स्टुडियो ओजनमा गरेका हुन्।
गीतको भिडियोमा कलाकार तथा मोडल एलिना रायमाझी, विशाल रायमाझी, सलिना नेपाली, आरजे अनु र शुशान्त पछाईको दमदार अभिनय देख्न सकिन्छ। छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकअप कबिन भाइको रहेको छ।