काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदहरूको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका हुन्।
ती सहिदहरूको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र भने नफेरिएको बालेनको भनाइ छ।
‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ उनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो, पटक–पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेनन्।’
उनले पछिल्ला दिनमा भएको भदौ महिनाको ‘जेनजी आन्दोलन’ को प्रसंग उठाउँदै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गरेका छन्।
बालेनले अब शहीदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने समय आएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा रहेको बताएका छन्।
‘लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्छ,’ उनले उल्लेख गरेका छन्।
त्यसैगरी, राज्यका निकायमा बढ्दो दलीयकरण अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले भनेका छन्, ‘यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन।’
शहीद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न सबैलाई आह्वानसमेत गरेका छन्।



