Wednesday, April 22, 2026
Homeदेश र प्रदेश६ सय घर जोखिममा

६ सय घर जोखिममा

सोलुखुम्बु : सोलुखुम्बुका ६ सयभन्दा बढी घर पहिरोको उच्च जोखिममा छन्। जिल्लाका आठवटै पालिकाको तथ्यांकअनुसार ६ सयभन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा छन्। जसअनुसार सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा २५ घरघुरी पहिरोको जोखिममा रहेको नगरपालिकाले जनाएको छ।

यस्तै, वडा–१ को नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जोखिम रहेको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए। यस्तै, थुलुङ दूधकोसी गाउँपालिका–७ को लुरुवा, ९ को लिखेप, फलाटे, ३ पञ्चन, १ को नेलेका ५० घरधुरीभन्दा बढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले पहिचान गरेको छ।

लिखुपिके गाउँपालिकामा करिब ५५ घरधुरी जोखिममा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार गाउँपालिकाको मेस्की र एर्माखुमा गरी ५५ घरधुरीभन्दा बढी जोखिममा छन्।
माप्य दूधकोसी गाउँपालिकाको वाप्सास्थित तामाखानी क्षेत्र, बोधु, अँधेरीलगायतका ३ सयभन्दा बढी घरधुरी पहिरोको जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए। सोताङ गाउँपालिकामा भने ४ घरधुरी जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। विगतमा जोखिम रहेको स्थानहरूमा तारजाली, पर्खाल लगाउने काम गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर राईले बताए। खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खुम्जुङ, खुन्दे, इम्जा र फेरुचेलगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिकाले जनाएको छ।

नेचा सल्यान गाउँपालिकाको बतासे, पातीखर्क र बोरोरे क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिए। सडक निर्माण र खोला नजिकै घर बनाएकाले पहिरोको जोखिम बढेको उनको भनाइ छ। जिल्लाको ५ सय रोपनी खेतीयोग्य जमिन र एक सय हेक्टर वन जंगलसमेत पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ। नेपालका ७७ जिल्लामध्ये सोलुखुम्बु विपद् जोखिमको २३ औं स्थानमा रहेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार वार्षिक रूपमा २५ घरपरिवार पहिरोका कारण विस्थापित हुने गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका