Thursday, April 30, 2026
Homeसुन्दर नेपाल३७४ आरोही मनास्लुतर्फ, रु १८ करोडभन्दा बढी रोयल्टी संकलन

३७४ आरोही मनास्लुतर्फ, रु १८ करोडभन्दा बढी रोयल्टी संकलन

काठमाडौं। शरद् ऋतुमा पर्वतारोहणको केन्द्रबिन्दु बनेको मनास्लु (८,१६३ मिटर) मा यस वर्ष उल्लेख्य संख्यामा आरोही पुगेका छन्। असोज १२ गतेसम्म ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले मनास्लु आरोहणको अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए।

केही आरोहीले सफलतापूर्वक मनास्लु आरोहण गरिसकेको र अरू तयारीमा रहेको गौतमले बताए। गत वर्ष यसै समयमा २८ समूहले अनुमति लिएका थिए। यसपटक सेभेन समिट ट्रेक्स, सतोरी एड्भेन्चर, इलाइट एक्सपेडलगायतका कम्पनी आधार शिविरसम्म पुगिसकेका छन्।

हाल मौसम अनुकूल भएकाले मनास्लुसँगै धौलागिरि, आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायत हिमालमा पनि आरोहण जारी छ। यस याममा ३६ हिमाल तथा पिकका लागि ६७ देशका ६६७ आरोहीले अनुमति लिएका छन्।

विभागको तथ्यांकअनुसार सगरमाथा आरोहणका लागि दुई समूहले अनुमति पाएका छन् भने धौलागिरि, मकालु, ल्होत्से र हिम्लुङमा पनि आरोही टोली पुगेका छन्।

उत्साहजनक वातावरण

नेपाल पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले यो वर्ष मनास्लु आरोहण निकै उत्साहजनक रहेको बताए। नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पाले पनि यस वर्ष विगतको तुलनामा बढी आरोही आएको बताए।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले पनि यसपटक आरोहणमा कुनै अप्रिय घटना नभएको र समग्रमा वातावरण सकारात्मक रहेको जनाए। तर, पदयात्रामा भने केही बुकिङ रद्द भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए।

रोयल्टी संकलन

पर्यटन विभागका अनुसार हालसम्म हिमाल आरोहणबाट रु १८ करोड २१ लाखभन्दा बढी रोयल्टी संकलन भएको छ। यसमध्ये मनास्लुबाट मात्र करिब १५ करोड उठेको छ। यो अहिलेसम्मकै बढी संकलन भएको गौतमले बताए।

नयाँ रेकर्ड

यस याममा १६ वर्ष चार महिना १८ दिन उमेरका निमा छिरिङ शेर्पाले मनास्लु आरोहण गरी सबैभन्दा कम उमेरमा आरोहण गर्ने कीर्तिमान बनाएका छन्। त्यस्तै, स्पेनका ८६ वर्षका आरोहीले पनि मनास्लु आरोहण गरेर उमेरको नयाँ रेकर्ड कायम गरेका छन्।

यता, पोल्याण्डका आन्द्रेज बार्गिएलले कृत्रिम अक्सिजन प्रयोग नगरी सगरमाथाबाट स्की गर्दै तल ओर्लिएर अर्को कीर्तिमान कायम गरेका छन्।

ऐतिहासिक पृष्ठभूमि

सन् १९५६ मा जापानी आरोही तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लु आरोहण गरेका थिए। लामो इतिहास बोकेको यो हिमाल गोरखामा अवस्थित छ र “हृदयको हिमाल” भनेर पनि चिनिन्छ।

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले विसं २०७७ मा मनास्लु आरोहण गरेपछि विश्वभर यसले चर्चा पाएको थियो।

— सिबी अधिकारी / रासस

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका