Sunday, July 26, 2026
Homeसामाचार३०४औँ पृथ्वी जयन्ती आज, राष्ट्रनिर्माताको योगदान स्मरण गर्दै देशभर राष्ट्रिय एकता दिवस

३०४औँ पृथ्वी जयन्ती आज, राष्ट्रनिर्माताको योगदान स्मरण गर्दै देशभर राष्ट्रिय एकता दिवस

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राजधानीदेखि जिल्लासम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

आजका दिन सिंहदरबार पश्चिम ढोकाअगाडि अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिने परम्परा रहेको छ। पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।

शाहको जन्मस्थान गोरखामा हरेक वर्षझैं यस वर्ष पनि पृथ्वी जयन्ती विशेष कार्यक्रमसहित मनाइँदैछ। नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जंगीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको जग बसालेका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो। उनले २० वर्षकै उमेरमा गद्दीआरोहण गर्दै आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरी एकीकरण अभियान अघि बढाएका थिए।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउने प्रेरणा दिने गर्दछ। यस दिवसले मुलुकलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेका पुर्खाहरूको योगदानप्रति सम्मान प्रकट गर्ने अवसर प्रदान गर्दछ।

व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी राष्ट्र निर्माणको आधार भएको सन्देश यस दिवसले दिन्छ। विशेषगरी युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गराउन पृथ्वी जयन्तीको विशेष महत्व रहेको छ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेकाले नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सफल भएको हो। ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उनका दिव्योपदेश आज पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छन्।

नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उनले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’को संज्ञा दिएका थिए, जुन भनाइ आज पनि कूटनीतिक सन्तुलनका सन्दर्भमा स्मरणीय छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका