Saturday, November 7, 2026
Homeसामाचार२६ लाखभन्दा बढी नागरिक सामाजिक सुरक्षा योजनामा समेटिए

२६ लाखभन्दा बढी नागरिक सामाजिक सुरक्षा योजनामा समेटिए

काठमाडौं। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ।

‘असल श्रम सम्बन्धको आधार– सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको सम्झनामा विशेष समारोह आयोजना हुँदैछ। कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुँदैछ।

सामाजिक सुरक्षालाई संविधानमा सुनिश्चित मौलिक हकका रूपमा कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो। श्रमिकको योगदानमा आधारित यो योजना सामाजिक तथा आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमार्फत सञ्चालन हुँदै आएको छ।

कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार सबै श्रमिकलाई योजनामा समेट्ने लक्ष्यका साथ औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई दायराभित्र ल्याइएको छ। हालसम्म साढे २६ लाखभन्दा बढी नागरिक सामाजिक सुरक्षाको छातामुनि आइसकेका छन्।

त्यसमध्ये औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ तथा स्वरोजगार क्षेत्रका ५८२ श्रमिक छन्।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। हालसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ कोषमा संकलन भइसकेको छ भने दुई लाख ५३ हजारभन्दा बढी श्रमिकले १७ अर्ब ७२ करोड बराबरका सुविधा तथा दाबी भुक्तानी प्राप्त गरिसकेका छन्।

कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधा, बचतमा ब्याज, निश्चित अवधिपछिको मासिक पेन्सन, घर सापटी तथा शैक्षिक सापटीका सुविधा पनि प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका