काठमाडौँ: कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका भएर बग्ने सेती नदीमा निर्माण भएको २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना पूर्ण रुपमा सम्पन्न भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा औपचारिकरूपमा जोडिएको छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको प्रवर्द्धनमा सम्पन्न उक्त आयोजना हाल सञ्चालनमा आइसकेको छ। कम्पनीका अध्यक्ष जगत पोखरेलका अनुसार विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडमा एक हजार ५०० भन्दा बढी संस्थापक लगानीकर्ताहरूको स्वामित्व रहेको छ।
विसं २०७७ सालमा निर्माण कार्य प्रारम्भ गरिएको आयोजना २०८१ कात्तिक २७ गतेदेखि विद्युत उत्पादन गर्दै नेपाल विद्युत प्राधिकरणलाई आपूर्ति गरिरहेको छ। आयोजनाले विद्युत् खरिद सम्झौताअनुसार तोकिएकोभन्दा बढी उत्पादन भइरहेको जनाएको छ।
उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत लाहाचोक सवस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
झण्डै ६ अर्ब रुपैयाँको लागतमा सम्पन्न आयोजनाले पहिलो वर्षमा करिब ८७ करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने अपेक्षा गरिएको छ। एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको सहवित्तीय सहभागिता रहेको यस आयोजनामा कुल लगानीको ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत संस्थापकहरूको स्वपूंजी लगानी रहेको बताइएको छ।
आज काठमाडौँमा आयोजित एक उद्घाटन समारोहमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की लगायतले ऊर्जा क्षेत्रमा भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रस्तुत गरेको कार्यदृष्टान्त उदाहरणीय रहेको उल्लेख गर्नुभयो।


