Friday, October 30, 2026
Homeराजनीति२४ वर्षपछि चुनावी मैदानमा ‘संगम’ : जनयुद्धबाट प्रतिनिधिसभासम्मको पुनरागमन

२४ वर्षपछि चुनावी मैदानमा ‘संगम’ : जनयुद्धबाट प्रतिनिधिसभासम्मको पुनरागमन

मुगु । मुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि पुनः प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्। २०५८ साल माघ १० गते सशस्त्र जनयुद्धमा होमिएका संगम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।

प्रेम र संघर्षको प्रतीक मानिने गुलाब चुनाव चिह्न लिएर उनी अहिले गाउँ–बस्ती डुल्दै मतदातामाझ आफ्ना एजेन्डा राख्दै भोट मागिरहेका छन्। प्रचारका क्रममा धेरै मतदाताले ‘मान्छे राम्रो, तर पार्टी कमजोर’ भन्ने प्रतिक्रिया दिने गरेको संगम बताउँछन्। त्यसलाई चुनौतीको रूपमा लिँदै उनले पार्टीको नीति, विचार र दीर्घकालीन एजेन्डामार्फत जनविश्वास जित्ने प्रयास गरिरहेको बताएका छन्।

मेडिकल पेसा त्यागेर जनयुद्धमा होमिएका संगम २०५८ सालदेखि लामो समय सक्रिय राजनीतिमा रहे। उनीसँगै संघर्ष थालेका नवराज धामी मुगुबाट संविधानसभा सदस्य निर्वाचित भए भने मंगलबहादुर शाही प्रदेशसभा सदस्य बने। अजबहादुर शाही गाउँपालिका अध्यक्षसमेत भए। तर संगम भने लामो समय राजनीतिक जिम्मेवारीमा रहे पनि कुनै निर्वाचित पदमा पुग्न सकेनन्।

२०५८ देखि २०६९ सालसम्म उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वसँगै रहे। त्यसपछि अलगिँदै २०७०–२०७१ सालमा वैध राजनीतिमा सक्रिय भए भने २०७१ सालपछि विप्लव नेतृत्वको नेकपा (माओवादी) मा आबद्ध भई राजनीतिक यात्रा निरन्तरता दिँदै आएका छन्।

२०६४ सालमा पार्टीले समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरे पनि बन्दसूचीमा नपरेको अनुभव सुनाउँदै संगमले राजनीतिमा अवसरभन्दा पनि प्रतिबद्धता महत्वपूर्ण हुने बताए। हाल उनी नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्। सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई जनस्तरसम्म पुर्‍याएको दाबी गर्दै उनले सोही अभियानकै क्रममा २४ दिन मुगु हिरासतमा बस्नुपरेको अनुभव पनि सुनाए।

मुगुको विकासका लागि ठेकेदारी प्रथा, आफन्तवाद र योजना बाँडफाँडको संस्कृति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। भूराजनीतिक हस्तक्षेपले देशलाई थप संकटतर्फ धकेलिरहेको उनको भनाइ छ।

राजनीतिसँगै संगम कृषि अभियानमा पनि सक्रिय छन्। छायानाथ रारा नगरपालिका–सोबा गाउँमा १२ हल जग्गामा ५ सय स्याउका बोट रोपिएको छ भने खत्याडको रातापानी क्षेत्रमा कागती बगैंचा र जिउकामा सिमी फर्म सञ्चालन भइरहेको उनले जानकारी दिए।

लामो संघर्षपछि पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका संगमले आफ्ना एजेन्डा, इमान्दार छवि र जनतासँगको प्रत्यक्ष सम्बन्धकै आधारमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका