काठमाडौँ, १७ साउन — सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने उक्त आयोजना कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन गरिएको हो। यसमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, र आइसिएफसी फाइनान्स लगायतका संस्थाहरू सहवित्तीय साझेदारका रूपमा सहभागी छन्।
शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच औपचारिक सम्झौता सम्पन्न भयो। कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
करीब रु ४१ अर्ब ६० करोड लागतमा निर्माण हुने आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको संरचना अपनाइने छ। आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित हुनेछ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घन मिटर प्रति सेकेन्ड, ग्रस हेड ७५८.९ मिटर, र नेट हेड ७३५.६ मिटर निर्धारण गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (PPA) भइसकेको र उत्पादन अनुमति पनि प्राप्त भइसकेको यस आयोजनालाई आगामी पाँच वर्षभित्र सम्पन्न गरी वि.सं. २०८८ असार मसान्तभित्र व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य रहेको छ।
उत्पादनपछि वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ। उक्त विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लम्बाइको २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमा जडान गरिनेछ।
आयोजनाका लागि २५ किलोमिटर लामो पहुँच सडक निर्माण गरिनेछ। प्रति मेगावाट लागत करिब रु १९ करोड २५ लाख पर्ने अनुमान गरिएको छ। स्वपुँजीको ३० प्रतिशत हिस्सा प्रवर्द्धक कम्पनीले संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ।
स्थानीय पूर्वाधारको विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता, र सुदूरपश्चिमको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षासहित माथिल्लो सेती आयोजना नेपालको जलविद्युत् विकास यात्रामा एउटा कोसेढुंगा मानिएको छ। आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार हुने विश्वास गरिएको छ।


