सोलुखुम्बु, १२ असार: पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार हवाई सेवा पुनः सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार जेठ २६ देखि खराब मौसमका कारण अवरुद्ध भएको उडान सेवा फेरि सञ्चालनमा आएको हो।
प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले बुधबार काठमाडौँबाट फाप्लु उडान भरेर १२ जना यात्रु ल्याएको थियो र फर्किँदा १० जना यात्रु लिएर काठमाडौँ फर्किएको हो। क्षेत्रको मौसम निरन्तर बदलिने भएकाले लामो समयसम्म उडान बन्द हुने स्थिति बारम्बार दोहोरिने गरेको अधिकारीहरूले बताएका छन्।
यसपटकको उडान अवरोधको मुख्य कारण निरन्तरको वर्षा र बाक्लो कुहिरो थियो, जसले गर्दा विमानस्थल १७ दिनसम्म पूर्ण रूपमा ठप्प भयो।
स्थानीय पदम श्रेष्ठका अनुसार, जिल्लामा गम्भीर बिरामी तथा अशक्त व्यक्तिहरूलाई काठमाडौँ पठाउन निकै कठिन भएको छ। उडान बन्द हुँदा धेरै बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन्। काठमाडौँ ‘रेफर’ गरिएका बिरामीलाई गाडीमार्फत घण्टौँको यात्रा गरेर ओखलढुङ्गा वा विराटनगर लैजानुपर्ने बाध्यता रहेको पेम्बा शेर्पाले बताए।
सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकका लागि लुक्ला मुख्य गन्तव्य भए पनि फाप्लु वैकल्पिक मार्गको रूपमा लिइन्छ। तर, फाप्लुमा उडान बन्द हुँदा पर्यटकले यात्रा योजना परिवर्तन गर्नुपर्ने अवस्था आउने गरेको यातायात व्यवसायी मिङ्मार शेर्पाले जानकारी दिए।
नियमित उडान कागजमै सीमित
हाल फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सबाहेक कुनै पनि निजी एयरलाइन्सले नियमित उडानको तालिका राखेको छैन। मौसम प्रतिकूल हुने र यात्रु संख्या न्यून हुने कारण निजी कम्पनीहरू उडान सञ्चालन गर्न इच्छुक देखिँदैनन्।
नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौँ–फाप्लु उडान गर्ने तालिका बनाएको भए पनि प्रायः ती उडानहरू मौसमका कारण स्थगित हुने गरेका छन्। प्राधिकरणका अनुसार मासिक रूपमा औसत १०–१२ दिन मात्र उडान सम्भव हुने अवस्था रहेको छ।
अर्कोतर्फ, नेपाल एयरलाइन्ससँग फाप्लुका लागि उपयुक्त ट्विनअटर जहाजको सङ्ख्या सीमित छ। यन्त्रको अवस्था, पाइलटको अभाव र प्राविधिक समस्याले पनि तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ।
सडक पनि जोखिमपूर्ण
फाप्लुबाट काठमाडौँसम्मको सडक दूरी करिब २७५ किलोमिटर छ, तर उक्त सडक मार्ग हाल पनि पूर्ण रूपमा उपयुक्त छैन। बिपी राजमार्ग हुँदै सिन्धुली, खुर्को, काभ्रे क्षेत्रका सडकमा पहिरोको उच्च जोखिम रहेकोले यात्रुहरूले ठूलो सास्ती खेप्नुपर्छ।
स्थानीय बिमला राई भन्छिन्, “सडकबाट यात्रा गर्नु भनेको शरीरलाई यातना दिनु जस्तै हो। बिरामी छ भने यात्रा झन् पीडादायी हुन्छ।”
स्थानीय जनप्रतिनिधिहरूले नियमित हवाई सेवा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, “मौसमका कारण नियमित जहाज सेवा असम्भव हुन्छ। तर, वैकल्पिक रूपमा सेनाको हेलिकप्टर र निजी एयरलाइन्ससँग समन्वय गरेर आवश्यक सेवा प्रदान गर्ने प्रयासमा छौँ। जहाज सेवा अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा अत्यावश्यक काममा संलग्न नागरिकहरूलाई धेरै सास्ती भइरहेको छ।”


