Monday, September 14, 2026
Homeराजनीति१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस महामन्त्री पौडेलको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।

आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको महत्वपूर्ण अवसरका रूपमा लिँदै उनले सबै तहका अधिवेशनमा सक्रिय र उत्साहजनक सहभागिता जनाउन आग्रह गरेका हुन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद दिएको बताए ।

महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटकपटक समयावधि थप गरिएको र वडा अधिवेशनको कार्यतालिकासमेत परिमार्जन गरिएको उनले जानकारी दिए ।

विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्यसमेत केन्द्रदेखि वडा र टोल तहसम्मको अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै पौडेलले उनीहरूको भूमिकाको पार्टीले सम्मान गरेको बताए ।

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा लिएको उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्न केन्द्रीय कार्यसमितिले निरन्तर पहल गरिरहेको बताए ।

बैठकले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले कुनै असहमति भएमा आफ्ना धारणा राख्ने र समाधान खोज्ने उपयुक्त स्थान महाधिवेशन नै भएको निष्कर्ष निकालेको छ । महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाउन पार्टी प्रतिबद्ध रहेको पौडेलले बताए ।

बैठकले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावलीसमेत स्वीकृत गरेको छ । यस्तै, केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट दिएको राजीनामाबारे सभापति गगनकुमार थापाले बैठकलाई जानकारी गराएका थिए ।

आइतबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला सङ्ग्रौला पन्त र योगेन्द्र चौधरी तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुङ्गाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले बैठकमा धारणा राखेका थिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका