काठमाडौं । इथियोपियाको अफार क्षेत्रमा अवस्थित हेली गुब्बी ज्वालामुखी आइतबार बिहान विस्फोट हुँदा वरपरका गाउँहरूमा बाक्लो धुलो र खरानी जमेको छ। स्मिथसोनियन इन्स्टिच्युटका अनुसार पछिल्ला १२ हजार वर्षपछि पहिलो पटक यस ज्वालामुखीमा विस्फोट भएको हो। स्याटेलाइट तस्बिरहरूमा लाल सागरमाथि ठूलो खरानीको बादल देखिएको छ।
स्थानीय अधिकारीहरूले कुनै हताहत नभएको बताए पनि, खरानीले पशुपालकहरूको जीविकामा असर पर्ने चेतावनी दिएका छन्। ज्वालामुखी विस्फोटपछि १४ किलोमिटरसम्म धुवाँ र खरानीको मुस्लो उडेको पुष्टि भएको छ।
टुलुज भोल्केनिक एश एडभाइजरी सेन्टरका अनुसार खरानीको बादल यमन, ओमान, भारत र उत्तरी पाकिस्तानसम्म पुगेको छ। हताहत वा विस्थापितबारे आधिकारिक विवरण उपलब्ध भएको छैन।
भारतस्थित वेदर संस्थाहरूका अनुसार यो खरानी बादल १००–१२० किमि प्रतिघण्टाको गतिमा उत्तर भारततिर सर्दैछ। बादल १५,००० देखि ४५,000 फिट उचाइमा फैलिएको छ, जसमा ज्वालामुखी खरानी, सल्फर डाइअक्साइड र साना चट्टानका कणहरू छन्। यसले आकाश धमिलो बनाउने, वायु गुणस्तर बिगार्ने र हवाई यातायात प्रभावित गर्ने चेतावनी दिइएको छ।
खरानीका कारण भारतमा उडान प्रभावित भएका छन्। केही एयरलाइन्सले उडानहरू रद्द गरेका छन्। पाकिस्तानी हवाई क्षेत्र बन्द भएकाले भारतीय विमानहरूले वैकल्पिक मार्ग अपनाइरहेका छन्। एयर इन्डियाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै परिस्थिति नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
उड्डयन नियामक डीजीसीएका अनुसार एयरलाइन्स र विमानस्थलहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको छ। भारतीय मौसम विज्ञान विभागले केही घण्टाभित्रै गुजरात, दिल्ली–एनसीआर र उत्तर भारतका अन्य क्षेत्रहरूमा खरानीको प्रभाव देखिने बताएको छ। सतहमा ठूलो प्रभाव नपर्ने तर आकाश धमिलो र बादलयुक्त देखिन सक्ने अनुमान गरिएको छ।


